निषेधाज्ञामा काठमाडौं जिल्ला अदालतले ७ प्रकारका सेवा मात्र दिने
काठमाडौं : निषेधाज्ञाको समयमा काठमाडौं जिल्ला अदालतले अत्यावश्यक बाहेकका सेवाप्रवाह रोक्ने भएको छ।
आज बसेको अदालतको पूर्ण बैठकले सात प्रकारका सेवाप्रवाह मात्र सुचारु गर्ने निर्णय गरेको हो। निर्णयबारे अदालतले सूचना निकालेर जानकारी गराएको हो।
नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको अवस्थामा अदालतको काम–कारवाही प्रभावित हुने भन्दै अदालतले भोलिदेखि वैशाख मसान्तसम्म तोकिएका सेवा बाहेकका अन्य सेवा स्थगन गर्ने निर्णय गरेको हो।
यस अवधिमा म्याद थप, पक्राउ पूर्जी, कल डिटेल अनुमति र जरुरी पक्राउ पुर्जीको समर्थन सम्बन्धी कार्य, अभियोगपत्र दर्ता गर्ने, अभियोगपत्रसाथ पेस भएका अभियुक्तको बयान लिने, थुनछेक आदेश गर्ने, बन्दी–प्रत्यक्षीकरणसम्बन्धी निवेदन, प्रहरीद्वारा पक्राउ परी आएका फरार प्रतिवादीको बयान तथा थुनछेकसम्बन्धी कार्य, घरेलु हिंसासम्बन्धी फिरादपत्र दर्ता र सुनुवाइ, बालसुधार गृहमा रहेका बालबालिका जिम्मा लिने विषयसँग सम्बन्धित निवेदनसम्बन्धी काम मात्र हुनेछन्।
यस अवधिमा मुद्दा, रिट तथा निवेदनमा रहेकाे हदम्याद, म्याद र तारेखको समयावधि नगुज्रने अदालतको सूचनामा उल्लेख गरिएको छ।
वैशाख १५, २०७८ बुधबार १४:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।