कांग्रेस केन्द्रीय सदस्यसहित ५ जनामा कोरोना सङ्क्रमण, केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय सदस्यसहित ५ जनामा कोरोना सङ्क्रमण, केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठसहित ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। केन्द्रीय सदस्य, कार्यालयका कर्मचारी सहित १५९ जनाको स्वाब लिएकोमा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कांग्रेसले जनाएको छ। 

पार्टी कार्यालयका कर्मचारीमै कोरोना सङ्क्रमण देखिएपछि आजका लागि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।

बैठकको तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्य समितिका सदस्य एवं कार्यालयका कर्मचारीहरूमा कोरोना पोजेटिभ देखिएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। 

कोरोनाको तीव्र सङ्क्रमण बढिरहेको बेला ठूलो सङ्ख्यामा उपस्थित भएर बैठक गर्नु उपयुक्त नदेखिएकाले निर्देशानुसार बैठक स्थगन गरिएको पौडेलले विज्ञप्ति निकालेर जानकारी दिएका हुन्। 

पार्टीको १४औँ महाधिवेशनको तयारीबारे छलफल गर्न दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बस्ने तय भएको थियो। बैठकमा क्रियाशील सदस्यता विवरण अनलाइनमा इन्ट्री गर्ने समय आज राति १२ बजेसम्म मात्रै भएकाले समय थप गर्ने विषयमा छलफल गर्ने भनिएको थियो।

वैशाख १५, २०७८ बुधबार १२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।