सर्वोच्च अदालतले आजदेखि अत्यन्त जरुरी महत्त्वका विषय मात्रै हेर्ने
काठमाडौँ : सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गरेको छ । सर्वोच्च अदालतले आजदेखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्त्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने जनाएको हो।
सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति निकालेर आजदेखि वैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धी अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने जानकारी दिए।
उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा उपयुक्त देखिएको काम कारबाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने निर्णय अदालतले गरेको छ।
काम कारबाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा, रिट तथा निवेदनमा रहेका हदम्याद, म्याद र तारेख नगुज्रने अदालतले जनाएको छ। विद्यमान परिस्थितिको मूल्याङ्कन गरी थप निर्णय लिन यही वैशाख ३१ गते सर्वोच्च अदालतको पूर्ण बैठक बस्ने सहप्रवक्ता ढकालले जानकारी दिए।
वैशाख १५, २०७८ बुधबार ०९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।