क्रियाशील सदस्यता विवरण बुझाउने समय फेरी थप्ने काँग्रेसको तयारी  

क्रियाशील सदस्यता विवरण बुझाउने समय फेरी थप्ने काँग्रेसको तयारी  

तर, आजसम्म पनि सबै जिल्लाबाट क्रियाशील सदस्यता विवरण आईनसकेको काँग्रेसले जनाएको छ। आज बस्ने काँग्रेस केन्द्रीय समिति बैठकमा विवरण नआएका जिल्लालाई समय थप गर्ने विषयमा छलफल हुनेछ। काँग्रेसले क्रियाशील सदस्यता विवरण पठाउन अहिलेसम्म ३ पटक समय थप गरिसकेको छ। 

भदौमा हुने काँग्रेसको १४ औँ महाधिवेशनलाई असर नपर्ने गरी फेरी समय थप गर्ने विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ। बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारीकै विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। 

उनका अनुसार अहिलेसम्म करिब ७० जिल्लाले क्रियाशील सदस्यताको विवरण अनलाइनबाट इन्ट्री गरिसकेका छन्। ‘अहिलेसम्म करिब ७० जिल्लाबाट साढे ७ लाख क्रियाशील सदस्यको विवरण आइसकेको छ,’पौडेलले भने,‘आज राती १२ बजेसम्म ४ वटा जिल्ला बाहेक बाँकी जिल्लाको विवरण आइसक्छ।’

सोलुखुम्बु, बारा, सप्तरी र सिन्धुपाल्चोक जिल्लालाई भने वैशाख मसान्तसम्म विवरण पठाउन समय दिइएको छ। समायोजन पछि टुङ्गो लागेका यी जिल्लालाई वैशाख मसान्तसम्मको समय दिइएको मुख्य सचिव पौडेलले बताए। 

काँग्रेसले क्रियाशील सदस्यको सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखेको छ। ‘१३ औँ महाधिवेशन साढे ४ लाख क्रियाशील सदस्य थिए,’उनले भने,‘१४ औँ महाधिवेशनमा सबै जिल्लाबाट विवरण आउँदा ८ लाख पुग्छ।’

वैशाख १५, २०७८ बुधबार ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।