काठमाडौँ उपत्यकामा एक महिना लकडाउन गर्ने तयारी 

काठमाडौँ उपत्यकामा एक महिना लकडाउन गर्ने तयारी 
फाइल तस्विर

काठमाडौँ : सरकारले काठमाडौँ उपत्यकामा लकडाउन गर्ने तयारी गरेको छ। कोरोना महामारी बढ्दै गएको र स्वास्थ्य सुरक्षा सावधानी नअपनाएको भन्दै सरकारले काठमाडौँ उपत्यकामा लकडाउन गर्ने तयारी गरेको हो। 

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्तीमा १ महिना लकडाउन गर्न सुझाव दिने सिसिएमसी सचिवालयले जनाएको छ। 

सचिवालयका अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने नाका १ महिना बन्द गर्ने र यातायातका साधन पनि चल्न रोक लगाउनु पर्ने अवस्थाबारे प्रधानमन्त्री ओलीलाई सिसिएमसी सचिवालयले ब्रिफिङ गर्नेछ। 

‘स्वास्थ्य सुरक्षा सावधानी अपनाउन बारम्बार अनुरोध गर्दा पनि अटेर गरिरहेका छन्,’ प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय एवं सिसिएमसीका सचिव खगराज बरालले उकेरासँग भने,‘काठमाडौँ उपत्यकामा एक महिना लकडाउन गर्नुपर्ने अवस्था आएको छ।’

नेपालमा दिन दिनै कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। हिजो मात्रै थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु भयो भने थप २५५९ जनामा कोरोना पुष्टि भएको छ। जनता बचाउन पनि लकडाउनको विकल्प नरहेको ब्रिफिङ सिसिएमसी सचिवालयले प्रधानमन्त्रीलाई गर्ने सचिव बरालले बताए। 

‘भारतमा कोरोना सङ्क्रमण रोक्न तेस्रो देश जान प्रतिबन्ध लगाएकाले भारतीय नागरिक तेस्रो देश जान काठमाडौँ आएका छन्,’ उनले भने,‘भारतीय नागरिकले ठमेलका होटेल भरिएको सूचना पाएका छौँ।’ 

भारतसँग सीमा जोडिएको नाका पनि सिल गर्न सिसिएमसीले सरकारलाई सिफारिस गर्नेछ। कोरोना महामारी बढिरहेपछि भेला, जात्रा, भिडभाड बढिरहेकाले कम्तीमा पनि एक महिना लकडाउन गर्नुपर्ने निष्कर्षमा सिसिएमसी सचिवालय पुगेको उनले बताए।

‘१५ दिन लकडाउन गरेर नहुने भएको छ,’ उनले भने,‘अवस्था भयावह बन्दै गएकाले जनतालाई कोरोनाबाट बचाउन स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गर्दा अटेर गरिरहेका छन्।’

वैशाख ११, २०७८ शनिबार ०९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।