निर्माणको काम नै नसकिई धरहराको उद्घाटन हुँदै 

निर्माणको काम नै नसकिई धरहराको उद्घाटन हुँदै 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहराको आज उद्घाटन गर्दैछन्।

निर्माणको काम नै नसकिई प्रधानमन्त्री ओलीले बिहान ११ बजे धरहराको उद्घाटन गर्न लागेका हुन्। धरहरामा सङ्ग्रहालय र पार्किङ लगायतको काम सम्पन्न हुन बाँकी नै छ। 

२०७२ को भूकम्पका कारण  धरहरा ढलेको थियो। धरहरा निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र जिआईटिसि रमन जेबीले नयाँ धरहरा बनाउने जिम्मा पाएको थियो। अहिले बनेको धरहरा पुनर्निर्माण नभई नयाँ बनेको हो। 

प्राधिकरण र जेबीबिच २ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि तोकिएको समयमा काम नसकिएकाले डिसेम्बरसम्मको समय सीमा तोकिएको प्राधिकरणका विज्ञ राजुमान मानन्धरले जानकारी दिए।

नयाँ धरहरा ३ अर्ब ४५ करोडको लगानीमा बनेको हो। बाहिरबाट हेर्दा ११ तले देखिने नयाँ धरहरा २२ तलाको बनेको छ। भूकम्पमा जोगिएको धरहराको भग्नावशेषलाई सिसाले ढाकेर राख्ने काम समेत हुन सकेको छैन।

नयाँ बनेको धरहराको १८ औ तलामा मिनी प्रदर्शनी थिएटर बनाइएको छ। सङ्ग्रहालय, म्युजिकल फाउन्टेन, गाडी पार्किङ, खाना कोर्ट लगायतका संरचना बनाइएको छ। नयाँ धरहराको साइज पहिलाको भन्दा ठुलो छ। नयाँ धरहरामा पनि गजुर पुरानै शैलीमा राखेर पुरानै धरहराको झल्को दिने प्रयास भएको छ। 

यो पनि, धरहरा हो कि भ्यु टावर ?

वैशाख ११, २०७८ शनिबार ०८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।