एमाले नेताहरूको कार्य विभाजनमा माधव-झलनाथ पक्ष जिम्मेवारी विहीन

एमाले नेताहरूको कार्य विभाजनमा माधव-झलनाथ पक्ष जिम्मेवारी विहीन

काठमाडौँ : नेकपा एमालेले नेताहरूको कार्य विभाजन गरेको छ। बालुवाटारमा बसेको दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले २६५ जना नेताहरूको कार्य विभाजन गरेको हो। 

बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिएको छ। महासचिव ईश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इन्चार्जको जिम्मेवारी दिइएको छ। 

बैठकले विष्णु पौडेललाई सङ्गठन विभाग प्रमुख र रामबहादुर थापालाई बागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। माओवादी केन्द्र परित्याग गरेका लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज, उद्योग तथा वाणिज्य विभाग प्रमुख र नेपाल उद्योग व्यवसायको इन्चार्जको जिम्मेवारी दिइएको छ।

टोपबहादुर रायमाझीलाई मोर्चा सङ्गठनको इन्चार्ज बनाइएको छ भने मणि थापालाई लुम्बिनी प्रदेशको इन्चार्ज र खानेपानी तथा सरसफाइ विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। 

कार्य विभाजनमा माधव नेपाल पक्षलाई सहभागी गराइए पनि कुनै जिम्मेवारी दिइएको छैन। जिम्मेवारी नपाउनेमा अमृत बोहरा, अरुण नेपाल, अष्टलक्ष्मी शाक्य, कमल जङ राई दनुवार, कल्याणी कुमारी खड्का, केदारप्रसाद न्यौपाने छन्। यस्तै कृष्णप्रसाद शर्मा खनाल, खगेन्द्र चुँडाल, गणेशकुमार पहाडी, गंगालाल तुलाधर, गोकर्ण विष्ट, गौरा प्रसाईँ कोइरालाले कुनै जिम्मेवारी पाएका छैनन्। 

घनश्याम भुसाल, घनेन्द्र बस्नेत, चन्द्र शाही, चूडामणि जङ्गली, जगन्नाथ खतिवडा, जयन्ती राई, जीवननाथ घिमिरे र जीवनराम श्रेष्ठलाई पनि जिम्मेवारी दिइएको छैन। 

जिम्मेवारी नपाउनेमा झपट रावल, झलनाथ खनाल, टङ्कप्रसाद कार्की, ठाकुरप्रसाद गैरे, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, दिलकुमारी पन्त र देउमान सम्बाहाङ्फे छन्। 

प्रदीप नेपाल, प्रकाश ज्वाला, प्रेमलकुमार खनाल, बेदुराम भुसाल, भानुभक्त जोशी, भीम आचार्य, भीम रावल, माधव कुमार नेपाल, मुकुन्द न्यौपाने, योगेश भट्टराई, युवराज ज्ञवाली, रघुजी पन्त, रामकुमारी झाँक्रीलाई पनि कुनै जिम्मेवारी दिइएको छैन। 

बामदेव गौतमले पनि कुनै जिम्मेवारी पाएनन्। केही दिन अघि मात्रै ओलीतिर गएका विष्णु रिजाललाई विदेश विभाग उपप्रमुख र दैलेखको सह इन्चार्जको जिम्मेवारी दिइएको छ। सुभाष नेम्वाङलाई प्रदेश नं १ को इन्चार्ज र संसदीय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। 

बैठकले युवा सङ्घको इन्चार्जमा महेश बस्नेत, अनेरास्ववियू इन्चार्जको जिम्मेवारी खिमलाल भट्टराई, प्रेस चौतारीको इन्चार्जमा सूर्य थापा, नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट इन्चार्जको जिम्मेवारी विष्णु रिमाललाई दिएको छ।

वैशाख १०, २०७८ शुक्रबार १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।