मन्त्रीपरिषद्को बैठकको आफ्नै निर्णयलाई गिज्याउँदै प्रधानमन्त्री
काठमाडौँ : बढ्दो कोरोना सङ्क्रमण नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी र मापदण्डबारे निर्णय भएको थियो बालुवाटारमा। निर्णय गर्ने बैठक थियो मन्त्रिपरिषद्को। निर्णय गराउने मुख्य व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली अहिले आफैँ आफ्नै निर्णयलाई गिज्याउन सक्रिय छन् एमाले अध्यक्षको रूपमा।
वैशाख ६ मा भएको निर्णय एकपछि अर्को गर्दै उनै प्रधानमन्त्री ओलीको नेतृत्वमा उलङ्घन भइरहेको छ। कोरोना सङ्क्रमण रोक्न सरकारले गरेको निर्णयको धज्जी उडाउन उनलाई मन्त्रीहरूले नै साथ दिइरहेका छन्।
सरकारका प्रवक्ता पार्वत गुरुङले सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णयमा ‘सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्विमिङ पुल लगायत भिडभाड हुने ठाउँलाई भने वैशाखभर बन्द गर्नुपर्ने उनले बताए । धार्मिक स्थलमा वैशाख मसान्तसम्म नृत्य पूजा मात्रै गर्ने र गराउन, एक पटकका २५ जनाभन्दा बढी भन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य लगाउन’ आदेश दिइएको थियो।
त्यसयता प्रधानमन्त्री ओलीको सक्रियतामा सिताराम शोभा रथयात्रा निस्कियो। बल्खुमा रहेको एमालेको मुख्यालयमा नयाँ भवनको शिलान्यास गर्दा उस्तै भिडभाड थियो। शुक्रवार ओलीले जहाँ मन्त्रिपरिषद्को बैठकले २५ जनाभन्दा बढी भेला नहुनु भन्ने आदेशको निर्णय गर्यो त्यही स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक राखेर स्थायी समिति गठनदेखि कार्य विभाजनसम्मको निर्णय गर्यो।
कार्यक्रममा एमाले ओली समूहका नेताहरूको बाक्लो उपस्थिति थियो। मास्क र खुट्टामा प्लास्टिकको कभर प्रयोग गरिए पनि सङ्ख्याका आधारमा २५ जना अनि न्यूनतम २ मिटरको नियम भने उलङ्घन भएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेकै तस्बिरले पुष्टि गर्छ।
मञ्चमा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, सरकारको नियम उलङ्घन गरे कारबाही गराउने जिम्मेवारी बोकेको गृह मन्त्रालय सम्हालेका रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, लेखराज भट्ट अनि गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ थिए। मञ्चमा रहेकामध्ये अन्यले मास्क लगाए पनि प्रधानमन्त्री ओली र मुख्यमन्त्री गुरुङले मास्क लगाएका थिएनन्।
मञ्च तल ७० जना जति नेताहरू उपस्थित थिए। अधिकांशले मास्क लगाएका थिए। तर एकबाट अर्काको २ मिटर दुरीको पालना भने भएको थिएन।
वैशाख १०, २०७८ शुक्रबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।