स्वयम्भूका कर्मराज महाविहार र १७ पुजारीघरको पुर्ननिर्माण सम्पन्न
काठमाडौं : विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू परिसरमा रहेको कर्मराज महाविहार (गुम्बा) र १७ पुजारीघरको पुर्ननिर्माण सकिएको छ।
स्वयम्भू पुर्ननिर्माण समितिका अनुसार २०७२ मा आएको भूकम्पकबाट क्षतिग्रस्त काठमाडौं महानगरपालिका–१५ स्थित महाविहार र बुद्धाचार्य पुजारी परिवारका १७ घरको पुर्ननिर्माण सकिएको हो।
समितिले पत्रकार सम्मेलन गरेर पुर्ननिर्माणका लागि १५ करोड बजेट विनियोजन भएकोमा १३ करोड ५२ लाखमा नै निर्माण सम्पन्न भएको जानकारी दिएको छ। पुर्ननिर्माण समितिका अध्यक्ष तथा वडा नं. १५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले पुजारी घरहरु ‘हाउस पुलिङ’ प्रणालीबाट एकै ठाँउमा ल्याई एकै आकारमा निर्माण गरिएको जानकारी दिए।
डंगोलले पुरातत्व विभागसँगको समन्वयमा विभागको मापदण्ड अनुसार मौलिक शैलीमा सम्पदा पुर्ननिर्माण सम्पन्न भएको जानकारी दिए। ‘हामीले विभागको स्विकृति लिएर नै मौलिक शैलीमा सम्पदा पुर्ननिर्माण गरेका हौँ,’उनले भने,‘यो हाउस पुलिङ प्रणालीबाट निर्माण सम्पन्न भएको पहिलो परियोजना हो।’
पुर्ननिर्माणका क्रममा पुरातात्विक संरचनामा सिमेन्ट र रड प्रयोग गरी संरचना निर्माण गरीएको भन्दै सम्पदा अभियन्ताहरुले बिरोध जनाँउदै आएका थिए। पुर्ननिर्माणको २०७५ पुष ३० मा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शिलान्यास गरेका थिए। कार्यक्रममा निर्माण सम्पन्न भएका सम्पदाको उद्धघाटन र हस्तान्तरण बैशाख १३ मा गरीने जानकारी गराईएको छ।
वैशाख १०, २०७८ शुक्रबार १५:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।