एमाले स्थायी कमिटीमा माधव नेपाल पक्ष हटाइए, पूर्वमाओवादी भित्र्याइए
काठमाडौं : नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरूलाई स्थायी कमिटीबाट हटाएको छ। बालुवाटारमा बसेको एमाले दसौँ महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल पक्षका नेताहरूलाई स्थायी कमिटीबाट हटाएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा रहेकालाई मात्रै राखेर १९ सदस्यीय स्थायी कमिटी बनाएको जानकारी बैठकमा दिए।
एमाले स्थायी कमिटीमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल यथावत छन्। ओलीले स्थायी कमिटीमा नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालाई राखेका छन्।
कानुन मन्त्री लिलानाथ श्रेष्ठले स्थायी कमिटीमा छलफल गरेर बाँकी सदस्य थप गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने ५ मध्ये चार जना सांसदलाई पार्टी र संसद् सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ। बैठकले फ्लोर क्रस गर्न आदेश दिएको भन्दै स्पष्टीकरण मागेका माधवकुमार नेपाल सहित सङ्घीय संसद्का २७ जना नेतालाई कारबाहीको निर्णय गरेन। स्पष्टीकरण सोधिएका र पेस गरेका सांसदहरूलाई कस्तो कारबाही गर्ने भन्ने जिम्मा स्थायी कमिटीलाई दिने बैठकले निर्णय गरेको छ।
नेपाल सहित सङ्घीय संसद्का २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई कारबाही किन नगर्ने भनेर एमालेले स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण बुझाएका कर्णालीका सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीको पद खोसिएको छ।
बैठकमा अध्यक्ष ओलीले स्पष्टीकरण सोधेकामध्ये योगेश भट्टराई, रामकुमारी झाँक्री, मेटमणि चौधरी, निरा जैरु र दीपकप्रकाश भट्टले स्पष्टीकरण नबुझाएको जानकारी गराएका छन्।
बैठकमा अध्यक्ष ओलीले नेपालसँग दुई पटक भएको वार्ताबारे जानकारी गराएका थिए। उनले माधवकुमार नेपाल पार्टी एकताप्रति इमानदार नदेखिएको आरोप लगाए। ओलीले आफू लचिलो भएर प्रस्तुत भए पनि नेपालमा पार्टीलाई एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति नदेखिएको बताए। नेपाल पक्ष पार्टी कब्जा गर्ने रणनीतिमा लागेको भए त्यो सफल नहुने ओलीको भनाइ छ।
यसअघि जनकपुरधामस्थित एमाले पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा एमाले वरिष्ठ नेता नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका थिए।
केपी ओली दम्भको वायुपङ्खी घोडामा चढेका कारण एकता क्षीण हुँदै गएको नेता नेपालको भनाइ थियो। उनले आफूले ओलीलाई समाधानको बाटो अपनाउन आग्रह गरे पनि ओलीले पार्टी एकता सुन्नै नचाहेको बताए।
ओली र नेपालका यी भनाइले एमालेमा जारी विवाद झन् बढ्दै गएको देखिएको छ। एमाले नेपाल समूहले फागुन २८ गते गरेका निर्णय विधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराइसकेको छ। रिटको पेसी पर्सि आइतबारलाई तोकिएको छ।
वैशाख १०, २०७८ शुक्रबार १४:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।