ओस्कार अवार्डका १० रोचक तथ्य

ओस्कार अवार्डका १० रोचक तथ्य

ओस्कार अवार्ड विश्व सिने जगतकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ। त्यसैले यो अवार्डलाई संसारभरिको फिल्म क्षेत्रले निकै महत्वका साथ हेरिरहेको हुन्छ।

हरेक वर्ष हुने ओस्कार अवार्ड उत्सव यस वर्ष पर्सि अर्थात् अप्रिल २५ तारिकमा हुँदैछ। उत्साहका साथ हेरिने यो अवार्ड कार्यक्रमका केही रोचक तथ्यहरु पनि छन्।

यस्ता छन् ओस्कार अवार्डका १० रोचक तथ्य
१. २४ क्यारेट सुनको जलप
ओस्कार अवार्डमा दिइने मूर्ति (स्ट्याचु) हेर्दा सुनकोझैं देखिन्छ। तर वास्तवमा उक्त मूर्ति सुनको भने होइन। ८ दशमलव ५ पाउन्ड सिल्भरले बनेको मूर्तिमा २४ क्यारेट सुनको जलप मात्र लगाइएको हुन्छ।

दोस्रो विश्व युद्धपछि केही समय एकेडेमी अवार्ड विजेताले भने सुनको जलप सहितको ओस्कार अवार्ड उचाल्ने सौभाग्य पाएनन्। त्यतिबेला युद्धका कारण सुनको अभाव भएकाले विजेतालाई प्लास्टर गरिएको मूर्तिमात्र प्रदान गरिएको थियो।

२. ४५ सेकेन्ड बोलेपछि म्युजिक
ओस्कारको सुरुवाती समयमा विजेता तथा वक्ताको भाषणको सामय सीमा थिएन। १९४३ मा ग्रिक गार्सनले ‘मिसेस मिनिवर’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जतिन्। त्यसपछि  ओस्कार विजेताको मन्तव्यमा समय–सीमा सुरु हुन थाल्यो।

जितको जोसमा गार्सनले पाँच मिनेटभन्दा बढी भाषण दिइन्। उक्त कार्यक्रम रातको १ बजेसम्म चलेको थियो। त्यसपछि भने वक्ताले लामो नबोलोस् भनेर सचेत गराउन ४५ सेकेन्डपछि संगीतको प्रयोग गर्न थालियो।

३. उमेर ढल्कियो पिर नगर्नूस्, ओस्कार जित्न सक्नुहुन्छ
८०-८५ वर्षको उमेरमा धेरै मानिस ओछ्यान पर्छन्। तर जेम्स आइवरी ओस्कार इतिहासका एक यस्ता व्यक्ति हुन् जो ८९ वर्षको उमेरमा अवार्ड जित्न सफल भए।

सन् २०१८ मा ‘कल मि बाई योर नेम’का लागि उत्कृष्ट रुपान्तरित पटकथा विधामा जेम्सले बाजी मार्न सफल भए। साथै जेम्स उक्त कार्यक्रमको उत्कृष्ट रात्रि पोसाक सम्मानबाट पनि सम्मानित हुन पुगे।

४. सात जना महिला मात्र उत्कृष्ट निर्देशकको मनोनयनमा
ओस्कारको ९३ वर्ष पुरानो भइसक्यो। तर यो अवधिमा जम्मा ७ जना महिलामात्र उत्कृष्ट निर्देशकको मनोनयनमा परेका छन्।

१९७७ मा ‘सेभेन ब्युटिज’ लिना वर्मुलर, १९९३ मा ‘दि पियानो’ जनावरी कैंफियन। २००३ मा सोफिया कोपोला, २०१० मा कैथरिन बिगेलो, २०१७ मा ग्रेटा ग्रेरविग र २०२१ मा दुई महिला एमराल्ड फेनेल ‘योंग प्रमिसिङ वमन’ र क्लो झाओ ‘नोमाडल्याण्ड’बाट उत्कृष्ट निर्देशकको मनोनयनमा परेका छन्।

५. ओस्कार इतिहासकै कान्छी विजेता
ओस्कार अवार्डमा उमेरको हदबन्दी छैन। ८९ वर्षका वृद्धदेखि १० वर्षकी बालिकासम्मले ओस्कार अवार्ड जितेका छन्।

टौटुम ओलिएल त्यस्ती बालिका हुन् जसले १० वर्षको उमेरमा पिटर बोगदानोभिचको निर्देशनको ‘पेपर मुन’ फिल्मबाट ओस्कार अवार्ड जितेकी थिइन्।

६. सबैभन्दा छोटो भाषण
हलिउडका प्रभावशाली फिल्म निर्माता अल्फेड हिचकोक्भ ओस्कार समारोहका सबैभन्दा छोटो भाषणकर्ता हुन्। उनले अवार्ड समातेपछि मन्तव्यको क्रममा ‘धन्यवाद’ शब्द मात्र प्रयोग गरेका छन्। उनको यस भाषणलाई सबैभन्दा छोटो भाषणको रुपमा लिइन्छ।

७. ‘ओस्कार’ नामको कथा
एकेडेमी अवार्डलाई ओस्कार अवार्ड भनेर बुझिन्छ तर वास्तवमा ओस्कार अवार्डमा १९३० को दशकसम्म ओस्कार शब्दको प्रयोग नै हुँदैैनथ्यो।

ओस्कार अवार्ड भनिएको अवार्डको वास्तविक नाम ‘एकेडेमी अवार्ड अफ मेरिट’ हो। एकेडेमीका एक निर्देशकका काका ओस्कारको अनुहार र अवार्डमा दिइने मूर्तिको अनुहार मिल्न गएकाले बोलिचालीमा अवार्डलाई ओस्कार शब्दको प्रयोग गर्न थालिएको थियो। अहिले ओस्कार काका ओस्कारको नाम नभएर सिने जगतको पर्यायवाची जस्तै भएको छ।

८. धेरै अवार्ड पाउने अभिनेता
वाल्ट डिज्नीले २६ पटक ओस्कार अवार्ड जितेका छन्। उनी सर्वाधिक ओस्कार पाउने अभिनेता हुन्। ६४ पटक मनोनयनमा परेका डिज्नीको रेकर्ड अहिलेसम्म तोडिएको छैन।

९. परिवारै ओस्कार विजेता
ओस्कार अवार्ड पुस्ता-दरपुस्ता कुनै परिवारले पाएको छ भने त्यो मिनेल्लीको परिवार हो। जुडी गारलौड मिनेल्लीले १९४३ मा ओस्कार अवार्ड जिते। जुडीका वंश विन्सेट मिनेल्लीले फिल्म ‘गिगी’बाट उत्कृष्ट निर्देशकको रुपमा ओस्कार अवार्ड हात पारे। त्यसको २० वर्षपछि विन्सेटकी छोरी लिजा मिनेल्लीले क्लासिक फिल्म ‘कैबर’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्।

१०. सर्वाधिक मनोनयनमा परेकी अभिनेत्री
मेरिल स्ट्रिप उत्कृष्ट अभिनेत्री र उत्कृष्ट सहायक अभिनेत्रीको रुपमा ओस्कार इतिहासमा सबैभन्दा बढी २१ पटकसम्म मनोनयनमा परेकी अभिनेत्री हुन्। मेरिल २१ पटक मनोनयनमा परे पनि तीन पटक मात्र उनले ओस्कार अवार्ड आफ्नो पोल्टामा पार्न सफल भइन्।

मेरिलले ‘क्रैैमर भर्सेज क्रैमर’, ‘सोफिज च्वाइस’ र ‘आइरन लेडी’बाट उत्कृष्ट अभिनेत्री र उत्कृष्ट सहायक अभिनेत्रीको रुपमा अवार्ड जितेकी थिइन्।

(हलिउड टाइम्सका लागि डानिएल हास्र्टले तयार पारेको रिपोर्टको नेपाली अनुवाद।)

वैशाख १०, २०७८ शुक्रबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।