प्रदेश २ को नाम र राजधानीको प्रस्ताव प्रदेश सभामा प्रस्तुत हुँदै  

प्रदेश २ को नाम र राजधानीको प्रस्ताव प्रदेश सभामा प्रस्तुत हुँदै  

काठमाडौँ : प्रदेशको नाम र स्थायी राजधानीका लागि दर्ता भएका प्रस्तावबारे छलफल गर्न अहिले केहीबेरमा प्रदेश २ को प्रदेश सभा बैठक बस्दैछ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश २ को नामका लागि ७ वटा र प्रदेशको स्थायी राजधानीका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन्। 

नामाकरण र राजधानीसम्बन्धी प्रस्तावलाई अहिले बस्ने प्रदेशसभा बैठकमा टेबल गरिदैछ। प्रदेशसभा सचिवालयले वैशाख ९ गतेसम्म प्रदेशको नाम र राजधानीको लागि प्रस्ताव दर्ता गर्न सूचना निकालेको थियो। 

सत्तारुढ जसपा, माओवादी केन्द्र, एमाले र काँग्रेसले प्रदेशको राजधानी जनकपुरधामलाई तोक्न प्रस्ताव गरेका छन्। काँग्रेस सांसद राजेश्वरप्रसाद साह र जसपा सांसद सिंहासन साह कलवारले व्यक्तिगत रूपमा वीरगन्जलाई राजधानी तोक्न प्रस्ताव दर्ता गराएका छन्। प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पारित गर्न दुई तिहाइ बहुमत चाहिने संवैधानिक प्रावधान छ। 

हाल प्रदेशसभामा जसपाका ५५, माओवादी केन्द्रका ७, काँग्रेसका १९, एमालेका २१ र नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसद छन्। 

वैशाख १०, २०७८ शुक्रबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।