एमालेले माधव–झलनाथ पक्षले बुझाएको स्पष्टीकरण अध्ययन गर्ने  

एमालेले माधव–झलनाथ पक्षले बुझाएको स्पष्टीकरण अध्ययन गर्ने  
फाइल तस्विर

काठमाडौँ : नेकपा एमालेले माधव–झलनाथ पक्षका सांसदले बुझाएको स्पष्टीकरणको जवाफ अध्ययन गरेर मात्रै निर्णय गर्ने जनाएको छ।

पार्टीको दसौँ महाधिवेशन आयोजक कमिटीको आज बस्ने बैठकमा स्पष्टीकरणको जवाफ अध्ययन मात्रै हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

पार्टीले सोधेको स्पष्टीकरण र माधव–झलनाथ पक्षले दिएको जवाफबारे अध्ययन गरेर मात्रै निर्णय हुने भट्टराईले बताए। ‘सङ्घीय संसद्का १९ र प्रदेश सभाका ५ जना सांसदले स्पष्टीकरणको जवाफ दिनु भएको छ,’उनले भने,‘आजै यस विषयमा निर्णय नहुन सक्छ।’

यसअघि वैशाख ६ गते बैठकले माधव–झलनाथ पक्षका २७ प्रतिनिधिसभा सदस्य र कर्णाली प्रदेशका ५ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको थियो। 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन माथि छलफल हुने भट्टराईले बताए। भट्टराईका अनुसार महाधिवेशनका लागि केन्द्रदेखि तल्लो तहसम्मका नेतालाई जिम्मेवारी दिने विषयमा पनि बैठकमा छलफल हुनेछ। 

महाधिवेशन आयोजक कमिटीको बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकमा माधव–झलनाथ पक्षलाई भने बोलाइएको छैन। ‘बोलाए पनि जाने कुरा भएन,’ माधव–झलनाथ पक्षका एक नेताले भने,‘हामी जाँदैनौ।’

वैशाख १०, २०७८ शुक्रबार ०९:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।