क्यानडाले भारतीय हवाई यात्रु रोक्यो, नेपालमा हवाई-स्थल दुवै खुला
काठमाडौँ : कोरोना सङ्क्रमण दर उच्च भएपछि क्यानडा सरकारले भारतबाट आउने सबै हवाई उडानमा रोक लगाएको छ।
कोरोनाको सङ्क्रमण फैलन सक्ने जोखिम हेरेर क्यानडाले ३० दिनका लागि सबै उडान रोकेको हो।
बिबिसी हिन्दीका अनुसार क्यानडाका परिवहन मन्त्री उमर अलगाबराका अनुसार कार्गो उडानमा भने प्रतिबन्ध लागू हुने छैन। भ्याक्सिन, पिपिई लगायत अन्य जरुरी सामान आपूर्तिका लागि कार्गो उडान खुला राखिएको उनले बताए।
उमरका अनुसार क्यानडाले यस्तै प्रतिबन्ध पाकिस्तानको उडानमा पनि लगाएको छ।
अस्तव्यस्त भारत
भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै अवस्था गम्भीर बन्दै गएको छ। सङ्क्रमणको गति उच्च छ। दिल्ली लगायतका सहरको अवस्था अस्तव्यस्त छ। अक्सिजनको अभावले कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेकाको ज्यान जोखिममा परेको छ। अक्सिजन अभावले दिल्ली समेत अस्तव्यस्त बनेको छ।
नेपालमा सीमा, हवाई दुवै खुला
नेपालमा समेत कोरोना सङ्क्रमणको गति बढ्दै गए पनि सीमा र हवाई उडान दुवै खुला नै छ। हरेक दिन हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकको सङ्ख्या बढिरहेको हो।
नेपालमा रहेको भारतीय दूतावासले नेपाल हुँदै तेस्रो मुलुक जाने भारतीय नागरिकको हकमा अनिवार्य गरिएको नो अब्जेक्सन लेटरको प्रावधान हटाएको छ।
नेपाल-भारत सीमाको अवस्था पनि उस्तै छ। कोरोना सङ्क्रमणको पहिलो चरणमा नेपालमा कोरोना सङ्क्रमण तीव्र हुनुको एक कारण भारतबाट नेपाल आउनेलाई सिमामा स्वास्थ्य परीक्षण गरी कोरोना सङ्क्रमण यकिन नगरी भित्र्याउनु देखिएको थियो।
अहिले पनि अवस्था बदलिएको देखिएन।
वैशाख १०, २०७८ शुक्रबार ०९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।