राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि वैशाख १४ गतेभित्र दल दर्ता गर्नुपर्ने

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि वैशाख १४ गतेभित्र दल दर्ता गर्नुपर्ने

काठमाडौँ : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा लागि दल दर्ता गर्न आग्रह गरेको छ। जेठ ६ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता गर्न आयोगले आग्रह गरेको हो। 

आयोगले वैशाख १४ गतेभित्र दल दर्ता गर्न सकिने जनाएको छ। बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ।

नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल यो क्षेत्रबाट निर्वाचित भएका थिए। बादलले दल त्याग गरेको भन्दै माओवादी केन्द्रले पद रिक्त गरिदिन सिफारिस गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद रिक्त गरेका थिए।

आयोगले सूचना निकालेर दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति र केन्द्रीय कार्यालय रहेको ठेगाना, टेलिफोन, इमेल र वेबसाइटको विवरण खुलाउनुपर्ने जनाएको छ। 

दल दर्ता गर्दा दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिन्हको नमुना र सोको विद्युतीय प्रति संलग्न गर्नुपर्नेछ। यस्तै आर्थिक वर्ष २०७६/०७७ सम्मको वार्षिक लेखा परीक्षण प्रतिवेदन लगायतका कागजपत्र निवेदन सँगै बुझाउनु पर्ने आयोगले जनाएको छ। 

आयोगका अनुसार दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला रहनेछ। 

वैशाख १०, २०७८ शुक्रबार ०८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।