बल्खु गएनन् नेपाल, ओलीको बोली उस्तै
काठमाडौँ : होटेल मेरियटमा भएको छलफलबारे प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपाल दुवै मौन छन्।
नेपाल पक्षका सांसदलाई कारबाहीको मनसायसहित सोधिएको स्पष्टीकरणपछि दल विभाजन हुने जोखिम उच्च भएको अवस्थामा भएको भेटको विषय विवाद समाधानको बाटो पहिल्याउने प्रयासको रूपमा हेरिएको छ।
स्रोतको हवालामा सार्वजनिक भएका छलफलका विषय निरस्त पार्टीमा सक्रिय हुने प्रस्ताव र सर्वोच्चको आदेशपछि एमाले ब्युतदाकै संरचनामा फर्कनुपर्ने नेपालको सर्त थियो।
ओलीले नेपाललाई गुटगत गतिविधि रोक्न आग्रह गर्दै बिहीबार बल्खुमा एमाले मुख्यालयको नयाँ भवनको शिलान्यासमा सहभागी हुन आग्रह गरेको दाबी समेत सार्वजनिक भए।
तर बिहीबार ओली एक्लैले शिलान्यास गरे। उनले शिलान्यासपछि जे अभिव्यक्ति दिए त्यसले बुधबारको वार्ता त्यति सुखद नभएको सङ्केत समेत दियो।
शिलान्यासपछि ओलीले पार्टीमा गुटगत गतिविधिलाई कुनै हालतमा मान्यता दिन नसक्ने बताए।
अनुशासनहीनता र अराजकतासँग सम्झौता गर्न नसकिने उनको भनाई थियो। उनले पार्टी विरोधी गतिविधिलाई मान्यता दिन नसक्ने भन्दै नेपाल समूहप्रति थप कडा हुनसक्ने सङ्केत समेत दिए।
'अनुशासनहीनतासँग सम्झौता गर्न सक्दैनौँ । अराजकतासँग सम्झौता गर्न सक्दैनौँ। गुटगत गतिविधिलाई कुनै हालतमा मान्यता दिन सक्दैनौँ,' उनले भने।
यसले एमालेमा बढेको विवाद तत्काल समाधान हुने देखिन्न।
वैशाख ९, २०७८ बिहीबार १०:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।