छोरीको उत्तरपुस्तिका सच्याएकाे आराेपमा लोकसेवाका तत्कालीन अधिकृतलाई भ्रष्टाचार मुद्दा
काठमाडौं : छोरीलाई लोकसेवा परीक्षा पास गराउन उत्तरपुस्तिका सच्याएको आरोपमा लोकसेवा आयोगका तत्कालीन शाखा अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको छ।
आयोगका अनुसार लोकसेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरका तत्कालीन शाखा अधिकृत मीमबहादुर शाहीलाई सरकारी कागजात सच्याई अनियमितता गरेको आरोपमा मुद्दा चलाइएको हो।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार तत्कालीन शाखा अधिकृत शाहीले नेपाल वायु सेवा निगमतर्फको सहायक चौथो पदको परीक्षामा सहभागी भएकी छोरीको उत्तरपुस्तिका सच्याएको उजुरी परेपछि छानबिन सुरु गरिएको थियो।
छानबिनका क्रममा शाहीले छोरीलाई परीक्षामा सफल गराउने नियत राखी उत्तरपुस्तिका सच्याएको पुष्टि भएको अख्तियारले जनाएको छ।
शाहीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुरजन्य कार्य गरेको ठहर गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्यियारले जनाएको छ।
वैशाख ८, २०७८ बुधबार १७:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।