अख्तियारले ‘स्टिङ अपरेसन’ गर्न नपाउने सर्वाेच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ गर्न नपाउने आदेश दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले अख्तियारको ‘स्टिङ अपरेसन’ अवैध ठहर गर्दै यस्तो आदेश दिएको हो।
अख्तियारले कार्यविधि बनाएर घुस लिने व्यक्तिलाई आफै पैसा दिएर रंगेहात पक्राउ गर्ने गरेको थियो। पक्राउ परेकालाई आयोगले विशेष अदालतमा मुद्दा चलाउँदै आएको छ।
उक्त प्रावधानले अनुसन्धान अधिकारीलाई स्वेच्छाचारी तवरबाट कार्य गर्न प्रोत्साहित प्रकृतिको देखिएकाले बदर गरिएको आदेशमा उल्लेख छ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्।
अधिवक्ता विष्णुप्रसाद घिमिरेले २०७४ पुस २ मा ‘स्टिङ अपरेसन’ रोक्न माग गर्दै रिट निवेदन दर्ता गराएका थिए।
रिटमा अख्तियारसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएको थियो।
वैशाख ८, २०७८ बुधबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।