नेपालगन्ज उपमहानगरमा आज राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको भन्दै बाँकेको नेपालगन्ज उपमहानगरमा आज (बुधबार) राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आदेश जारी गर्दै आज रातिदेखि वैशाख १५ राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेका हुन्।
कोरोना रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद्को वैशाख ६ को आदेश, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थासमेत), सवारी साधन, पसल व्यवसाय सञ्चालन र अत्यावश्यक काम बाहेकको हिँडडुलमा समेत निषेध गरिएको आदेशमा उल्लेख छ।
निषेधाज्ञा अवधिमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधी पसल, बैंकको एटिएम सेवाजस्ता अत्यावश्यक सेवाहरू एवं सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरू र हवाई सेवा सञ्चालन गर्न पाउने जनाइएको छ।
निषेधाज्ञा अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी र नीलो (कूटनीतिक) प्लेटका सवारी साधन, लामो दुरीका तथा मालवाहक सवारी साधन, निर्माण सामग्री ढुवानीका साधन, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधन र अनुमति (पास) प्राप्त सवारी साधन सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ।
तर, यी सेवा एवं कार्यमा संलग्न कर्मचारी/व्यक्तिले अनिवार्यरूपमा कर्मचारी परिचयपत्र एवं अन्य सान्दर्भिक कागजात साथमा राखेको हुनुपर्ने र मास्क, भौतिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डको पालना गरेको हुनुपर्ने आदेशमा उल्लेख छ।
दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दुध र ग्यास)का पसल बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने जनाइएकाे छ।
आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने जनाइएको छ।
उपमहानगरपालिकाका कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ३५ छ।
वैशाख ८, २०७८ बुधबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।