सूर्या ल्याबले स्वाब नै नलिई नेगेटिभ रिपोर्ट दिने गरेको खुलासा, विदेश हिँडेका १२२ जना विमानस्थलबाटै फर्काइयो

सूर्या ल्याबले स्वाब नै नलिई नेगेटिभ रिपोर्ट दिने गरेको खुलासा, विदेश हिँडेका १२२ जना विमानस्थलबाटै फर्काइयो

काठमाडौँ : काठमाडौँको सिनामंगलस्थित सूर्या ल्याबबाट पिसिआर नेगेटिभ आएको रिपोर्ट लिएर विदेश जान हिँडेका १२२ जनालाई त्रिभुवन विमानस्थल फर्काइएको छ।

सूर्या ल्याबमा परीक्षण गरिएको पिसिआर रिपोर्ट लिएर विभिन्न देश जानका लागि विमानस्थल पुगेका उनीहरूलाई फर्काइएको हो।

विदेश यात्राका लागि पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य छ। तर सूर्या ल्याबले नमुना नै नलिई नक्कली रिपोर्ट बेच्ने गरेको पाइएकाले उक्त ल्याबको रिपोर्ट बोकेर यात्रा गर्न खोज्ने १२२ जनालाई फर्काइएको विमानस्थल प्रहरीले जनाएको छ। 

विमानस्थलबाटै फर्काइएपछि विरोध गरेका उनीहरूलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारबाटै स्वीकृति प्राप्त ल्याबमा आफूहरूले परीक्षण गर्दा पनि सरकारले विदेश जान रोकेको भन्दै उनीहरूले विरोध जनाए।

आज बुधबारमात्रै काठमाडौँमा ९ हजार रुपैयाँ तिरेर नक्कली पिसिआर परीक्षण रिपोर्ट बनाउने गरेको खुलेको थियो। महानगरीय अपराध महाशाखाको टोलीले हिजो सिनामंगलमा रहेको सुरिया हेल्थ केयर प्रालिमा छापा मार्दा नक्कली पिसिआर रिपोर्ट बनाएको खुलेको हो।

चार घण्टामा स्वाब नै नलिई नेगेटिभ रिपोर्ट दिने गरेको खुलेपछि ल्याब सञ्चालकलाई सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वैशाख ८, २०७८ बुधबार १५:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।