राजु अधिकारीको ‘आखिर रोज्ने के?’ लोकार्पण
काठमाडौं : योग विज्ञान तथा जीवनशैली प्रशिक्षक डा. राजु अधिकारीको नयाँ कृति ‘आखिर रोज्ने के?’ लोकार्पण गरिएको छ।
कोभिड-१९ को बढ्दो दोस्रो लहरका कारण पुस्तक भौतिक रूपमा सार्वजनिक नगरी टेलिभिजनमार्फत लोकार्पण गरिएको हो। उद्यमी एवं गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतो र लेखकले मंगलबार संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।
उक्त अवसरमा लेखक अधिकारीले मानिसको जीवनमा सम्भावना र अवसर प्रशस्त हुँदा जीवनको बाटो रोजाइ र निर्णय ठिक भएन भने त्यो अन्यन्तै दुःखद या परिणामहीन हुने बताए। यसले मानिसलाई दुःखद अवस्थामा पुर्याउने उनको भनाइ छ।
‘आन्तरिक जीवन र बाह्य जीवनबीचको लडाइँ पनि मानिसको सबभन्दा ठूलो लडाइँ हो । त्यसलाई थोरै भए पनि समाधान दिने जमर्को पुस्तकले गरेको छ,’ उनले भने।
धन र मनमध्ये कुन रोज्ने भन्ने विषयमा पनि उनले पुस्तकमा उल्लेख गरेका छन्। ‘मनले चाहेको रोज्दा कहिलेकाहीँ धन पाइन्न,’ उनी भन्छन्, ‘धनको कुरा रोज्दा कहिलेकाहीँ मन पाइन्न। यसलाई कसरी मिलाउने अर्थात् मन र धनलाई कसरी समन्वय गर्ने भन्ने विषयलाई पनि पुस्तकमा महत्वका साथ सिकाउन खोजेको लेखक अधिकारीले बताए ।
साधन र साधनाका विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ। मान्छे साधनकै पछि लागेर जिन्दगी जान्छ, साधना छुट्छ। तर जीवनमा साधनालाई छुटाउनुहुँदैन। उनी थप्छन्, ‘जीवनको भूमरी भनेको अनिर्णय हो, यसबाट मानिसलाई अलिकति भए पनि बाहिर निकाल्ने प्रयास पुस्तकमार्फत गर्न खोजेको छु।’
मानवजीवनमा निर्णयशक्ति अभिवृद्धि गर्ने पुस्तक ‘आखिर रोज्ने के?’ रहेको उद्यमी महतोले बताए। मानिसले मन र दिमागमध्ये मनको आवाज रोज्नुपर्छ। मनको आवाज रोज्यो भने जीवनमा उन्नति प्रगति हुँदै जान्छ। ‘यो पुस्तकले भन्न खोजेको आशय मनलाई रोजौं अर्थात् मनको आवाज रोजौं भन्ने हो,’ उनले भने।
आफ्नो जीवनलाई शान्त अनि सुसंस्कृत बनाउन चाहनेलाई यो पुस्तक अति उपयोगी हुन सक्ने उनले बताए। ‘यसले स्वस्थ जीवनको मार्गनिर्देश मात्र गर्दैन, सभ्य समाज निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ,’ उद्यमी महतोले भने।
यसअघि डा. अधिकारीका ‘खाने कसरी पिउने कसरी’, ‘योग पनि गरौं, भोग पनि गरौं’, ‘तपाईंका लागि योग’, ‘यस्तो होस् जीवनशैली’ र ‘जिन्दगी, रिल्याक्स प्लिज!’ प्रकाशित छन् ।
वैशाख ८, २०७८ बुधबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।