सरकार देशव्यापी लकडाउन गर्ने सोचमा छैन : सचिव बराल
काठमाडौँ : सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि कडाइ गर्ने तयारी गरेको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड परिपालना नभए सरकार कडाइ गर्न बाध्य हुने प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव खगराज बरालले बताए।
मास्क अनिवार्य गरिए पनि बसमा यात्रा गर्ने यात्रुले समेत मास्क नलगाएको भन्दै उनले कडाइ गर्नुपर्ने अवस्था आउने बताए। ‘कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ,’सचिव बरालले उकेरासँग भने,‘संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड परिपालना गर्नुपर्छ।’
उनले सरकार देशव्यापी लकडाउन गर्ने सोचमा नभएको बताए। कोरोना संक्रमणको जोखिम भएका जिल्लाले लकडाउन गर्न सक्ने उनले बताए। ‘सरकार देशव्यापी लकडाउन गर्ने सोचमा छैन,’उनले भने,‘जोखिम भएका जिल्लाले लकडाउन गर्न सक्छन।’
जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क अनिवार्य लगाउन, भिडभाड नगर्न, रात्रिकालीन व्यवसाय बन्द गराएको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिनुभयो। ‘भिडभाड नगर्न माइकिङ गरिएको छ,’ उनले भने,‘सबैलाई मास्क अनिवार्य लगाउन अनुगमन नै सुरु गरेका छौँ।’
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर अनुगमन सुरु गरेको उनले बताए। ‘हिजो यातायात व्यवसायीसँग छलफल भएको छ,’ उनले भने,‘आज या भोलि उद्योगी व्यवसायीसँग छलफल गर्ने तयारी छ।’ उनले तत्काल काठमाडौँ उपत्यकामा लकडाउन नै गर्ने अवस्था भने नरहेको बताए।
वैशाख ८, २०७८ बुधबार १०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।