नयाँ सरकार गठनका लागि अन्य दलसँग छलफललाई तीव्रता दिने माओवादी केन्द्रको निर्णय 

नयाँ सरकार गठनका लागि अन्य दलसँग छलफललाई तीव्रता दिने माओवादी केन्द्रको निर्णय 

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर नयाँ सरकार गठनका विषयमा अन्य दलसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ।

पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

‘यो प्रतिगामी सरकारलाई हटाएर प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्र पक्षधरसँग सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र संविधानलाई तीव्ररूपमा घनिभूतता दिने र छिट्टै यस सम्बन्धमा निष्कर्षमा पुग्ने निर्णय गरेका छौं,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने। 

वर्तमान सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक, आर्थिक रूपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेकाले ओलीलाई सरकारबाट हटाउनुको विकल्प नभएको माओवादीको ठहर छ। 

यस्तै, बैठकले प्रतिनिधिसभाको अधिवेशन प्रभावकारीमूलक बनाउनुपर्ने परिस्थितिमा अन्त्य गर्नु सरकारको स्वेच्छाचारी कदमको अभिव्यक्ति भएको निष्कर्ष निकाल्दै भत्सर्ना गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यसैगरी, बैठकले कोरोना भाइरसको दोस्रो लहर चलेको अवस्थामा सरकार गम्भीर नभएको भन्दै पार्टी पंक्तिलाई कोरोनाबारे जनचेतना फैलाउन र सहजीकरणका लागि परिचालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए। 

बैठकले सरकारलाई दिएको समर्थन फिर्ता, विभिन्न जिम्मेवारीमा रहेका सदस्यको रिपोर्टिङ, पार्टीको विधान संसोधन र आगामी केन्द्रीय कमिटीको तयारी लगायतका कार्यसूची तय गरेको छ।  

बैठकमा अध्यक्ष प्रचण्डले सरकार गठन गर्न दलहरूसँग भएको छलफल सकारात्मक रहेको र एक–दुई दिनमा नै टुंगोमा पुगिने जानकारी गराएका थिए। उनले संवैधानिक निर्वाचन भए त्यसको सामना गर्न तयार रहेको बताएका थिए। 

बैठक भोलि (बुधबार) १ बजे फेरि बस्दै छ। 

वैशाख ७, २०७८ मंगलबार १८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।