स्वास्थ्य मन्त्रालयको निर्देशन: उपचार सुनिश्चित गरेर मात्रै बिरामी रिफर गर्नु

स्वास्थ्य मन्त्रालयको निर्देशन: उपचार सुनिश्चित गरेर मात्रै बिरामी रिफर गर्नु

काठमाडौँ :  कोरोना सङ्क्रमणको गति बढेसँगै अस्पतालहरूमा सङ्क्रमितको चाप बढेसँगै बेडको अभाव सुरु भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामी अन्य अस्पतालमा रिफर गर्दा बेड खाली छ छैन बुझेर मात्र पठाउन निर्देशन दिएको छ।

मन्त्रालयले मङ्गलवार जारी गरेको विज्ञप्तिमा ‘अस्पतालमा पुगेका बिरामीलाई अन्य अस्पतालमा पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितको समन्वय गरेर मात्रै पठाउन’ उल्लेख गरिएको छ।

‘कुनै पनि अस्पतालमा आइपुगेका बिरामीहरूको आकस्मिक उपचार व्यवस्थापन गरेर तथा अन्य अस्पतालमा पठाउनुपर्ने अवस्थामा बेडको उपलब्धता र उपचार पाउने सुनिश्चितको समन्वय गरेर मात्रै पठाउनु हुन सबै अस्पतालहरूलाई निर्देशन गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले नियमित स्वास्थ्य सेवा तथा आकस्मिक सेवा प्रवाहमा सर्वसाधारणमा परेको कठिनाइप्रति मन्त्रालयले गम्भीर रहेको र ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

 

वैशाख ७, २०७८ मंगलबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।