नेपालसहित २७ संघीय सांसद्लाई एमालेले सोध्यो स्पष्टीकरण
काठमाडौं : नेकपा एमालेले माधवकुमार नेपालसहित २७ जना संघीय सांसद्लाई स्पष्टीकरण सोधेको छ।
पार्टी अनुशासन उल्लंघन गरेको भन्दै एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय सांसद् माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, झपट रावल, पवित्रा निरौला, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, विरोध खतिवडा र सोमप्रसाद पाण्डेलाई स्पष्टीकरण सोधेका हुन्।
स्पष्टीकरण साेधिनेमा भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, नीरादेवी जैरु, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन र मुकुन्द न्यौपाने छन्।
एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले स्पष्टीकरण सोधिएका सबैलाई पत्र पठाइसकिएको र दुई दिनभित्र स्पष्टीकरण बुझाउन भनिएकाे जानकारी दिए।
‘तपाईंले नेपाल कम्युनिस्ट पार्टी (एमाले)को विधान २०४९ (संशोधन २०७१ समेत) को धारा ४९ (क) (१), (२), (३), (४), (५), (६), (७), (१२) र (१४) मा उल्लेखित व्यवस्थाहरू विपरीत अनुशासन उल्लंघन गर्नुभएको प्रष्ट देखिएकाले तपाईंलाई उक्त विधानको ४९ (ख) र (ग) र धारा ५० बमोजिम किन कारवाही नगर्ने ?’ स्पष्टीकरण पत्रमा सोधिएको छ।
स्पष्टीकरणमा संघीय संसद्को सदस्य पदबाट नहटाउने आधार र कारण दुई दिनमा पेस गर्न निर्देशन गरिएको छ।
‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १ (ग) बमोजिम तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारवाही नगर्ने ? र, तपाईंलाई संघीय संसद्को सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित दुई दिनभित्र स्पष्टीकरण पेस गर्नहुन निर्देशन गर्छ,’ स्पष्टीकरणमा भनिएको छ।
यस्तै, एमालले कर्णाली प्रदेशका पाँच जना सांसद्लाई पनि स्पष्टीकरण सोधिएको एमाले मुख्य सचेतक भट्टराईले जानकारी दिए। कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने चार जना र सांसद् देवी ओलीलाई स्पष्टीकरण सोधिएको उनले बताए।
वैशाख ७, २०७८ मंगलबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।