दैलेखमा भारतबाट आएका एक जनाको कोरोनाका कारण मृत्यु 

दैलेखमा भारतबाट आएका एक जनाको कोरोनाका कारण मृत्यु 

दैलेख : गत शनिवार भारतबाट एक जना व्यक्ति दैलेखमा आए। उनको दुई दिन पछि सोमबार निधन भयो। उनको मृत्यु हुनुको कारण थियो कोरोना सङ्क्रमण।

भारतबाट आएका उनले मात्रै हैन साथीहरूले समेत ढाँटे। बाँके जिल्ला हुँदै आएका उनीहरूले सिमानाकामा राम्रोसँग स्वास्थ्य जाँच गराएनन्।  

भारतबाट लुकीछिपी आउने र भारतबाट आएको नभन्दा कोरोना सङ्क्रमणबाट उनको निधन भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। ‘कम्तीमा भारतबाट आएको हुँ भनेर उपचार गरिदिएको भए उहाँको ज्यान जाँदैनथ्यो होला,’प्याकुरेलले भने, ‘उपचारै नपाएपछि उहाँको ज्यान गयो परिवारले पनि झुट बोले उहाँसँग आउने साथीले पनि झुट बोले।’

प्याकुरेलले भारतबाट नेपाल आउने आइसोलेसनमा नबस्ने, तोकिएको स्वास्थ्य मापदण्ड पालना नगर्ने जो कोहीलाई संक्रमक रोग ऐन २०२० अनुसार कारबाही गर्ने बताए । ‘भारतबाट जो जो आउनु भएको छ उहाँहरूलाई कारबाही प्रक्रिया अगाडि बढाएका छौ,’ प्याकुरेलले भने ‘नभए त स्वास्थ्य मापदण्ड नै पालना नगर्ने देखियो।’

भारतसँगको खुल्ला सिमानाका कारण नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम छ। दैलेखको सिमानाका भारतसँग नजोडिए पनि स्थानीयहरू भारतमा आउजाउ बाक्लै हुने हुँदा कोरोना सङ्क्रमणको जोखिम बढेको हो। दैलेखका प्रमुख जिल्ला अधिकारी प्याकुरेलका अनुसार दैलेख जिल्ला भर ४ जना मात्रै आइसोलेसनमा छन् भने ६ जना दैलेखका नागरिक बाँकेमा आइसोलेसनमा छन्। 

जिल्लामा भएका सबै पालिकामा सय क्षमताका आइसोलेसन कक्ष निर्माण गरिएको छ भने कोरोना सङ्क्रमण देखिए पालिकाहरूले आफ्नो पालिकामा लकडाउन गर्न सक्ने उनले बताए।

वैशाख ७, २०७८ मंगलबार १३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।