आज चैते दसैँ, दुर्गा भवानीको उपासना गरी मनाइँदै
काठमाडौँ : आज चैते दसैँ पर्व, दुर्गा भवानीको उपासना गरी मनाइँदैछ। दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दसैँ मनाउने चलन रहेको छ।
हनुमानढोका दरबारस्थित मूलचोकमा ५४ राँगा र ५४ बोकाको बलि दिएर दशैँघरमा अर्चना गर्ने परम्परा छ। गत वर्ष चैते दसैँमा भने कोरोना भाइरसको सन्त्रासका कारण पशु चौपाया ढुवानीमा रोक लगाइएका कारण बलि नदिई पूजा मात्र गरिएको थियो । चैते दसैँमा कोरोना भाइरसको महामारीका कारण पहिलो पटक बलि पूजा रोकिएको थियो ।
उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, विजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत पीठमा चैते दसैँका अवसरमा विशेष पूजा हुन्छ।
यसै गरी उपत्यका बाहिरका पलान्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्ति पीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ।
चैतेदशैँका दिन आजै जमलस्थित तीनधारा पाठशाला परिसरबाट सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदैछ।
वैशाख ७, २०७८ मंगलबार ०८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।