आजदेखि कोरोना खोपको दोस्रो मात्रा दिइने
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लिएकालाई आजदेखि दोस्रो मात्रा दिने भएको छ।
माघ १४ देखि फागुन १० गतेसम्म पहिलो मात्रा लिएकालाई आजदेखि ११ गतेसम्म दोस्रो मात्रा दिइने भएको हो। पहिलो प्राथमिकतामा ४ लाख ४९ हजार ८८० जना व्यक्तिले खोप लगाएका थिए।
पहिलो मात्रा लगाएका स्वास्थ्यकर्मी, सफाइकर्मीलाई आजदेखि कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार हालसम्म १९ लाख जनाले खोप लगाइसकेका छन्।
दोस्रो मात्रा लगाइसकेका व्यक्तिलाई खोप कार्ड समेत उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयले बताएको छ। सरकारले पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई भारतमा उत्पादित कोभिसिल्ड खोप लगाइदिएको थियो। अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो।
यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका व्यक्तिलाई भने जेठ १५ देखि दोस्रो डोज दिने तयारी भइरहेको छ।
वैशाख ७, २०७८ मंगलबार ०७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।