कसले कहिले लगाउने कोभिसिल्ड खोपको दोस्रो मात्रा ? 

कसले कहिले लगाउने कोभिसिल्ड खोपको दोस्रो मात्रा ? 
फाइल तस्बिर।

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने मिति र खोप केन्द्र तोकिएको छ।

स्वास्थ्य कार्यालय, काठमाडौंले सूचना जारी गर्दै गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका व्यक्तिका लागि दोस्रो मात्रा लगाउने मिति र स्थान तोकेको हो। 

कसले कहिले लगाउने ? 

मन्त्रालयका अनुसार माघ १४, १५, १६, १७, २६, २७, २८, २९ गते पहिलो मात्रा खोप लगाएका व्यक्तिले वैशाख ७ गते खोप लगाउनुपर्ने छ। माघ १८, १९, २०, २१, २२ र फागुन २ गते खोपको पहिलो मात्रा लगाएका व्यक्तिले वैशाख ८ गते दोस्रो मात्रा लगाउनुपर्ने कार्यालयले जनाएको छ। 

यस्तै, माघ २३, फागुन ३, ४ र ५ गते खोप लगाएका व्यक्तिले वैशाख ९ गते खोप लगाउने मिति तोकिएको छ। माघ २४, फागुन ६, ८ र ९ गते खोप लगाएका व्यक्तिले वैशाख १० गते खोपको दोस्रो मात्रा लगाउनुपर्ने छ। 

यसैगरी, माघ ३०, फागुन ७ र १० गते खोप लगाएका व्यक्तिले वैशाख ११ गते खोप लगाउनुपर्ने कार्यालयले जनाएको छ। 

खाेप बिहान १० देखि ४ बजेभित्र खोप लगाइने सूचनामा उल्लेख छ।

गत माघ १४ देखि फागुन १० गतेसम्म स्वास्थ्यकर्मी, महिला, सामुदायिक स्वयंसेविका, एम्बुलेन्स चालक तथा सह चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सबै सरकारी कार्यालय, संघ संस्था, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, निर्वाचित जनप्रतिनिधि र सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा कर्मचारीलाई खोप लगाइएको थियो। 

स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका अनुसार उक्त अवधिमा ४ लाख ३९ हजार जनाले खोपको पहिलो मात्रा लगाएका थिए। 

 

वैशाख ६, २०७८ सोमबार २२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।