कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको ३० बुँदे निर्णयमा के छ ?
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले ३० बुँदे निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बैठकले गरेका निर्णय सार्वजनिक गरेका छन्।
बैठकले काठमाडौं, ललितपुर र भक्तपुरका सबै महानगरपालिका तथा नगरपालिका, मोरङको विराटनगर, पर्साको वीरगन्ज, चितवनको भरतपुर र कास्कीको पोखरा महानगरपालिका, सुुनसरीको इटहरी र धरान, धनुषाको जनकपुर, मकवानपुरको हेटौडा, रूपन्देहीको बुटवल, दाङको घोराही र तुलसीपुर, बाँकेको नेपालगन्ज र कैलालीको धनगढी उपमहानगरपालिका र झापाको मेचीनगर, बिर्तामोड र दमक, सप्तरीको राजविराज, काभ्रेपलाञ्चोकको बनेपा र धुलिखेल, रूपन्देहीको सिद्धार्थनगर, सुर्खेतको वीरेन्द्रनगर र कञ्चनपुरको भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्थामा वैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाइ सञ्चालन गर्ने आदेश जारी गरेको छ।
बैठकले होटल तथा रेस्टुरेन्ट राति ८ बजेदेखि खोल्न नपाउने निर्णय गरेको छ। यस्तै, सार्वजनिक यातायातमा चढ्दा मास्क अनिवार्य लगाउनुपर्ने, सार्वजनिक सवारी साधनको ढोका र भित्र सेनिटाइजर अनिवार्य राख्नुपर्ने निर्णय गरिएको छ।
यसैगरी, भारतसँगका अन्तर्राष्ट्रिय स्थलगत सीमा नाका नजिकै हजार जना अट्ने होल्डिङ सेन्टर बनाउने निर्णय गरेको सूचनामन्त्री गुरुङले जनाएका छन्।
बैठकले फिल्म हल, व्यायामशाला, स्विमिङ पुल सञ्चालनमा रोक लगाउनेलगायत निर्णय गरेको छ।
विश्वभरी फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार ३० बुँदे आदेश जारी गरिएको निर्णयमा उल्लेख छ।
वैशाख ६, २०७८ सोमबार २१:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।