कोरोना कहर: महानगर र उपमहानगरका सहरी क्षेत्रका विद्यालय बन्द
काठमाडौँ : बढ्दो कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकारले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका लगायतका २५ स्थानका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।
सरकारले कोरोना सङ्क्रमितको सङ्ख्याको आधारमा भौतिक कक्षा बन्द गरेर अनलाइन कक्षा सञ्चालन हुने जिल्लाहरू तोकेको हो।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले काठमाडौँ, ललितपुर, भक्तपुर, जिल्लाका सबै महानगरपालिका तथा नगरपालिका, विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा महानगरपालिका, इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, तथा धनगढी उपमहानगरपालिका, मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलिखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर तथा भिमदत्त नगरपालिकामा रहेका शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको जानकारी दिए।
शैक्षिक संस्थामा विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्र राखिएको छ। यी क्षेत्रका विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रले भौतिक रूपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक शिक्षण सिकाईका विधि अपनाउनुपर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ।
वैशाख ६, २०७८ सोमबार १८:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।