मास्क नलगाउनेले सार्वजनिक यातायात चढ्न नपाउने
काठमाडौं : सरकारले मास्क नलगाउने यात्रुले सार्वजनिक यातायात चढ्न नपाउने व्यवस्था गरेकाे छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेकाे भन्दै सार्वजनिक यातायातमा यात्रुले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचनामन्त्री पार्वत गुरुङले बैठकले सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धमा सवारी साधनको ढोका तथा सवारीसाधनभित्र सेनिटाइजरको व्यवस्था गरिनुपर्ने, चालक तथा सहचालकले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने, सवारी साधनलाई दैनिकरूपमा निःसंक्रमण गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई बढीमा १० रूपैयाँ लिई चालक वा सहचालकले मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाएका यात्रुलाई सार्वजनिक यातायातमा प्रवेश गर्न नदिनेलगायत निर्णय गरेको जानकारी दिए।
वैशाख ६, २०७८ सोमबार १८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।