स्थानीय भाषामा लागू गरेको पाठ्यक्रम अध्यापन गराउन शिक्षकलाई तालिम
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले स्थानीय भाषामा लागू गरेको पाठ्यक्रम अध्यापन गराउन नेपालभाषा प्रशिक्षण सहायक (स्यनामि) हरूलाई दिएको तालिम आज सकिँदैछ।
येँ देय म्हसीके अध्यापन गराउन छानिएका करिब १८० शिक्षकलाई महानगरभित्रका ६ वटा विद्यालयमा दिइरहेको प्रशिक्षण तालिम आज सकिने भएको हो।
तालिम सकिएपछि उनीहरूलाई पायक पर्ने विद्यालयमा करारमा पठाइने महानगरपालिकाले जनाएको छ। स्यनामिहरुलाई पाठ्यक्रम कार्यान्वयन र पाठ्यपुस्तकलाई प्रयोगात्मक रूपमा अध्यापन कसरी गराउने भनेर प्रशिक्षण दिइएको स्थानीय पाठ्यक्रम निर्माण समितिका सदस्य वरुण वैद्यले जानकारी दिए।
शिक्षकहरू विद्यालय जाने बित्तिकै नेपाल भाषामा पढाउन र विद्यार्थीलाई बुझाउन सम्भव नभएको भन्दै अहिले नेपालीमै विद्यार्थीहरूलाई सहजीकरण गर्ने वैद्यले बताए। ’पछि बिस्तारै नेपालभाषा सहज हुँदै गएपछि त्यही अनुसार कक्षा हुन्छ। अहिले हामी भाषा, लिपिभन्दा विद्यार्थीलाई नेवा संस्कृति सभ्यता बुझाउने प्रयासमा छौँ’ उनले भने।
हाल प्रशिक्षणमा सहभागीहरू मध्ये केही गैर नेवार समेत छन्। नेपाल भाषामा पोख्त उनीहरू यो पाठ्यक्रमले आउने दिनमा भाषाको मात्रै नभई काठमाडौँ सभ्यताकै संरक्षण हुने बताउँछन्।
’यो एक समुदायको मात्र भाषा होइन। काठमाडौँको भाषा हो। यो बुझेर केही बिग्रिँदैन। अब यो भाषाको जगेर्नामा बल पुग्नेछ,’ तालिममा सहभागी अदृशा चौधरीले भनिन्। गैर नेवार बाहुल्य हुने विद्यालयमा कसरी पढाउने भन्ने अन्योलमा रहेका शिक्षकहरू अब सरल ढङ्गले विषयलाई बुझाउन समक्ष भएको बताउँछन्।
सामुदायिक र संस्थागत विद्यालयमा यही शैक्षिक सत्रदेखि यो पाठ्यक्रम लागू गर्ने भनिए पनि कोरोना संक्रमणका कारण केही असहजता उत्पन्न भएको महानगर शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले बताए। उनले अहिले केही समस्या देखिए पनि आउने शैक्षिक सत्रदेखि भने कुनै समस्या नहुने बताए।
’यो तालिम सकिने बित्तिकै शिक्षकहरू विद्यालय पुग्नेछन्। अहिले जति पढाउन सकिन्छ त्यति पढाउने हो। सबै विषयको अवस्था त्यस्तै छ। अर्को शैक्षिक सत्रदेखि सबै कुरा मिल्छ’ उनले भने। सुवेदीले पाठ्यक्रम महानगरभित्रका सबै विद्यालयमा पुगिसकेको भन्दै पाठ्यपुस्तक पनि अर्को शैक्षिक सत्रसम्म तयार हुने बताए।
वैशाख ६, २०७८ सोमबार ०९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।