पहाडी भू-भागको मौसम बेलुकीसम्मै बदली रहने 

पहाडी भू-भागको मौसम बेलुकीसम्मै बदली रहने 

काठमाडौँ : देशका पहाडी भू-भागको मौसम बेलुकीसम्म नै आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ। 

विभागका अनुसार पहाडी भू-भागका थोरै स्थानमा दिउँसोपछि बेलुकीसम्मै मेघगर्जन, चट्याङ, हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। स्थानीय वायुको सक्रियतासँगै पश्चिमी वायुको प्रभावका कारण यो हप्ता देशका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको वरिष्ठ मौसम विद् वरुण पौडेलले जानकारी दिए। 

गण्डकी, बागमती र प्रदेश नम्बर १ का पहाडी भू भागका केही स्थानमा आज क्षणिक वर्षाको सम्भावना रहेको पौडेलले बताए। ‘हिजोको भन्दा आज मौसममा केही सुधार देखिएको छ,’ उनले भने,‘काठमाडौँमा भने बेलुका बादल सक्ने देखिन्छ।’

तापक्रम निरन्तर बढ्दै गएको छ। अहिलेसम्म तराईमा ३८ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ। काठमाडौँमा ३१ डिग्रीसम्म मापन भएको अधिकतम तापक्रम आज २९ देखि ३० डिग्रीसम्म पुग्ने अनुमान विभागले गरेको छ। 

वैशाख ६, २०७८ सोमबार ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।