बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवदेनशील बन्न सरोकारवालालाई आग्रह गरेको छ।

आयोगले आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकाका विद्यालयको स्थलगत अनुगमनमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएको, बिरामी विद्यार्थीलाई कक्षाकोठामा अन्य विद्यार्थीसँग राखेर पढाइएको पाइएकोले यस्तो आग्रह गरेको हो। 

विज्ञप्तिमा पछिल्लो दुई हप्तामा तीन सयभन्दा बढी बालबालिका कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएको जानकारी पाएको उल्लेख गरिएको छ।  

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च जोखिममा रहेका काठमाडौँ उपत्यका सहितका १४ जिल्लामा शिक्षण संस्थालगायत बढी भीडभाड हुने क्षेत्र तथा सेवाहरू तत्कालका लागि बन्द गर्न सुझाव दिएको अवस्थामा शिक्षण संस्थाहरू हाल सञ्चालनमै रहेको एवं स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नहुँदा बालबालिकाको स्वास्थ्य अधिकार जोखिममा परेको देखिन्छ,’ आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा नेपालको संविधानको धारा ३९ ले बालबालिकाको हकको व्यवस्था गर्नुका साथै नेपाल पक्ष राष्ट्र बनेको बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९८९ को धारा २४ ले बालबालिकाको उच्चतम स्वास्थ्यको हितलाई ध्यान दिनुपर्ने उल्लेख गरेको जनाइएको छ। 

‘अतः बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहँदै पठनपाठनको वैकल्पिक व्यवस्था गर्न, बालबालिकाको जीवनको अधिकारको ख्याल राख्दै शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न, विद्यालय सञ्चालन गर्ने गराउने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयबाटै परस्पर विरोधाभाषपूर्ण सूचना सम्प्रेषण नगर्न, अभिभावक र विद्यार्थीमा मनोवैज्ञानिक त्रास सृजना नगर्न, स्वास्थ्यको विषयमा स्वास्थ्य मन्त्रालयको राय, सल्लाह, अनुरोध वा सूचना बमोजिम गर्न र स्वास्थ्य जस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिई व्यवहार गर्न गराउन नेपाल सरकार तथा सम्बन्धित पक्षलाई आयोग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 
 

वैशाख ५, २०७८ आइतबार २२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।