‘भविष्य सिद्ध्याइदिन्छु भन्नेकै बिजोग भयो’
काभ्रे : नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेललाई व्यङ्ग्य गर्दै अरूको राजनीतिक भविष्य सिद्ध्याइदिने धम्की दिनेकै बिजोग भएको भनेका छन्।
काभ्रेको धुलिखेलमा एमालेको समानान्तर कमिटी घोषणा गर्ने कार्यक्रममा बोल्दै नेपालले भने‘ मैले भनेको नमान्ने हो भने सबैको राजनीतिक भविष्य सिद्ध्याइदिन्छु भन्नेकै बिजोग भएको छ।’
कँडेल कर्णालीको मुख्यमन्त्री पदको दाबेदार थिए। महेन्द्र बहादुर शाहीलाई मुख्यमन्त्रीबाट हटाएर कँडेललाई मुख्यमन्त्री बनाउन राखेको अविश्वास प्रस्ताव एमाले नेपाल समूहका चार सांसदले फ्लोर क्रस गरेपछि तुहिएको थियो।
पार्टीले मुख्यमन्त्रीमाथिको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न जारी गरेको ह्विप उलङ्घन गर्दै प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कूर्मराज शाहीले
विश्वासको मत दिएपछि शाहीको पद जोगिएको थियो।
उनले कँडेलले अरूको राजनीतिक भविष्य नै सिद्ध्याउने चेतावनी दिएपछि साथीहरूले 'मर्ता क्या नही कर्ता' भनेर उसैलाई तह लगाएको नेपालको भनाई थियो।
वैशाख ५, २०७८ आइतबार २०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।