वैशाख ७ देखि खोपकाे दोस्रो मात्रा लगाउने तयारी

वैशाख ७ देखि खोपकाे दोस्रो मात्रा लगाउने तयारी

काठमाडौं : सरकारले वैशाख ७ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको दोस्रो मात्रा खोप लगाउने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७७ माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा खोप लगाउने तयारी भएको हो।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ४ लाख ३९ हजारलाई खोप लगाइने छ। उनले भने, ‘अहिले लगाउनुपर्ने ४ लाख ३९ हजार छ। त्यतिलाई पुग्ने खोप छ।’

गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा लगाइने खोप शाखा प्रमुख गौतमले बताए।

स्वास्थ्यकर्मी, महिला, सामुदायिक स्वयंसेविका, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, सबै सरकारी कार्यालय, संघ संस्था, बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहमा खटिएका सुरक्षाकर्मी, निर्वाचित जनप्रतिनिधि र सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी, कुटनीतिक नियोगका कर्मचारीहरुलाई दोस्रो मात्रा खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

खोप लगाउन जाँदा खोपकार्ड वा आफ्नो कार्यालयको परिचयपत्र वा सरकारी कार्ड लगाउन मन्त्रालयले आग्रह गरेको छ। देशैभरका स्वास्थ्य संस्था तथा खोप केन्द्रमार्फत खोप लगाउने मन्त्रालयले जनाएको छ।

वैशाख ५, २०७८ आइतबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।