कसैको दबाब र प्रभावमा काम नगर्ने सभामुख सापकोटाको अडान

कसैको दबाब र प्रभावमा काम नगर्ने सभामुख सापकोटाको अडान

'अहिलेको बहस व्यक्ति व्यक्तिबिचको टक्कर हैन। लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गर्ने विषयमा बहस हो,' उनले भने'सबैलाई केही समय भ्रममा राख्न सकिन्छ। तर सबैलाई सधैँ भ्रममा राख्न सकिन्न। म धेरै बोलेको छैन। लुरुलुरु काम गरिरहेको छु।'

उनले अनजानमा आफूबाट कुनै त्रुटि भएको हुनसक्ने भए पनि जानाजान देश र जनताको हित विपरीत कुनै काम नगरेको दाबी गरे। आफूले कसैको दबाब र प्रभावमा काम नगरेको र अब पनि नगर्ने बताउँदै उनले भने' विवेकमा जे देखेको छु त्यही काम गरिरहेको छु र गरिरहने छु।'

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली सभामुख सापकोटाको आलोचनामा केन्द्रित हुँदै आएका छन्। एमसिसीको प्रस्ताव अगाडि नबढाएकोमा ओलीले उनको आलोचना गर्दै आएका छन्। उनले शनिवार राखेको सर्वदलीय बैठकमा समेत सापकोटाको आलोचना गरेका थिए।

उनले सभामुखमा स्पष्ट, तटस्थ र इमानदारीताका साथ काम गर्नुपर्ने जिम्मेवारी रहेकाले आफूले सोही गरिरहेको दाबी गर्दै भने' यहाँ तटस्थ हुनु भनेको मेरो पक्षमा काम गरोस् भन्ने हुने रहेछ। म यो पदमा रहेसम्म इमानदारीताका साथ काम गर्छु। मलाई विवेक प्रयोग गरेर काम गर्न कसैले रोक्न सक्ने छैन। यसका लागि म जे त्याग गर्नुपर्छ म त्यो त्याग गर्न तयार छु।'

वैशाख ५, २०७८ आइतबार १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।