गण्डकी प्रदेशको सङ्कट टार्न बालुवाटारमा प्रधानमन्त्री र ठाकुरबीच छलफल

गण्डकी प्रदेशको सङ्कट टार्न बालुवाटारमा प्रधानमन्त्री र ठाकुरबीच छलफल

प्रधानमन्त्री ओलीले प्रारम्भमा जसपाका ठाकुरसँग एक्लै छलफल गरेका थिए। पछि जसपाको कार्यदल र एमालेको कार्यदलबिच छलफल भएको थियो। पछिल्लो समय केन्द्रमा सरकारलाई समर्थन जुटाउन प्रधानमन्त्री ओलीले जसपाका नेताहरूसँगको छलफलकोक्रम बढाएका थिए।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत नगुमाउन प्रधानमन्त्री ओलीले जसपालाई नेपाली काँग्रेस र माओवादी केन्द्रको मोर्चामा जानबाट रोके पनि बिहीबार एमालेका तर्फबाट गण्डकी प्रदेशको नेतृत्व गरिरहेका गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुँदा जसपाले समेत समर्थन गरेको थियो।

यता केन्द्रमा सरकारमा आउनेबारे छलफल गर्ने तर प्रदेशमा नेकपाको मुख्यमन्त्रीविरुद्ध काँग्रेस र माओवादी केन्द्रसँग समेत सहमति गरेपछि प्रधानमन्त्री ओलीले ठाकुरसँग यस विषयमा छलफल गरेको स्रोतको दाबी छ।

प्रधानमन्त्री ओलीले जसपाको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको दाबी गर्दै प्रदेशको राजनीतिमा काँग्रेस र माओवादीको साथ नलाग्न आग्रह गरेका थिए। त्यसबारे ठाकुरबाट प्रस्ट धारणा आउन भने सकेन। उनले काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न पार्टीभित्र अर्को समूह समेत सक्रिय रहेकाले आफूलाई सहज नभएको जानकारी गराएको स्रोतले बतायो।

रेसम चौधरीको जति छिटो रिहाइ भयो आफूलाई त्यत्ति सहज हुने ठाकुरले बताएपछि एमालेकारतर्फबाट जसपासँग संवाद गर्न बनेको कार्यदल र जसपाको कार्यदलबिच छलफल भएको थियो। छलफल माग सम्बोधन र सरकारमा सहभागी हुने मोडलमा केन्द्रित रहे पनि निष्कर्ष भने नआएको छलफलमा सहभागी एक नेताले जानकारी दिए।

एमालेको कार्यदलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई सदस्य छन् । जसपाबाट नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण कार्यदलमा छन् ।

वैशाख २, २०७८ बिहीबार २२:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।