अविश्वासको प्रस्ताव रोक्न गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
काठमाडौँ : गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गएराती १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन्।
अधिवेशन अन्त्य गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएको सचिव हरिराज पोखरेलले जानकारी दिए। चैत २५ गतेदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशन चैत २७ गते २०७८ वैशाख ६ गतेसम्मका लागि स्थगित भएको थियो।
मुख्यमन्त्री पृथ्वीशुव्वा गुरुङले आफू विरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि अधिवेशन अन्त्यको सिफारिस गरेका हुन्। काँग्रेस र माओवादी केन्द्रले आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए।
तत्कालका लागि प्रदेशसभा अधिवेशन अन्त्य भए पनि छिट्टै बजेट अधिवेशन बोलाउनु पर्ने भएकाले अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङलाई सहज भने देखिँदैन।
वैशाख २, २०७८ बिहीबार ११:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।