प्युठान जिप दुर्घटना : गुल्मीका प्रशासकीय अधिकृत न्यौपानेसहित ५ जनाको मृत्यु
बुटवल : प्युठानको रुमालेमा आज (बुधबार) बिहान जिप दुर्घटनामा परी जिल्ला प्रशासन कार्यालय, गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित पाँच जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, प्युठानका अनुसार दुर्घटनामा परी प्रशासकीय अधिकृत न्यौपानेसहित कार्यालयका खरिदार गुल्मी, धुर्कोट गाउँपालिका–७ का ईश्वरी भण्डारी, कम्प्युटर अपरेटर रेसुंगा नगरपालिका–७ का सूर्य पन्थी र गाडीचालक मुसीकोट–३ का केशव कार्की र धुर्काेटकै यमलाल पन्थी छन्।
प्रशासकीय अधिकृत र चालकको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, गुल्मीका १२ कर्मचारी सवार लु१ज १६५५ नम्वरको जिप प्युठानको रुमालेमा आज बिहान दुर्घटनामा परेको थियो। उनीहरू स्वर्गद्धारी दर्शनका लागि जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनाका घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ।
वैशाख १, २०७८ बुधबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।