नयाँ बसपार्कका टिकट काउन्टर आजदेखि बन्द 

नयाँ बसपार्कका टिकट काउन्टर आजदेखि बन्द 

काठमाडौँ : गोङ्गबुमा रहेको नयाँ बसपार्कका टिकट काउन्टर आज बुधवारदेखि बन्द भएका छन्।

बसपार्कका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टरमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले अहिले सञ्चालन हुँदै आएका काउन्टर आजदेखि केही समयका लागि बन्द भएका हुन्।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले टिकट काउन्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ। 

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको यो जग्गा २०५६ सालमा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबिच ‘सार्वजनिक(निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो। 

प्रालिले यात्रुको सहजताका लागि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था मिलाएको छ। प्रालिले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भिडभाडलाई  ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिएको जनाएको छ। यो बसपार्कमा एक हजार ५०० सार्वजनिक गाडी पार्किङ गर्न सक्ने क्षमता छ।

वैशाख १, २०७८ बुधबार १२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।