९८ करोड लागतमा ४२ स्वास्थ्य संस्था पुनर्निर्माण
ओखलढुङ्गा : भूकम्पले क्षति पुर्याएका ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुमा ४२ वटा स्वास्थ्य संस्था मध्ये ११ वटा भवन पुनर्निर्माण भएका छन्।
ओखलढुङ्गामा २२, खोटाङमा १७ र सोलुखुम्बुमा ३ गरी जम्मा ४२ वटा स्वास्थ्य संस्था भवन पुनर्निर्माणको क्रममा रहेकोमा हालसम्म ११ वटा निर्माण सम्पन्न भएर सञ्चालनमा आएका हुन्।
यी भवनको कुल लागत करिब ९८ करोड ८४ लाख रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) ओखलढुङ्गाले जनाएको छ।
ओखलढुङ्गाका प्रमुख इन्जिनियर अर्जुन तामाङले ओखलढुङ्गाको जन्तरखानी, माम्खा, रगनी, टारकेराबारी र नर्वदेश्वर स्वास्थ्य चौकी भवन सञ्चालनमा आएको जानकारी दिए।
उँबु, सिस्नेरी, टोक्सेल, भुसिंगा, दियाले र हर्कपुर स्वास्थ्य संस्था भवन चालू आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न हुने गरी काम भइरहेको छ। भदौरे, वाक्सा, बिगुटार, थाक्ले, तलुवा, सिंहदेवी, सल्लेरी, वेतिनी र पोकली गरी जम्मा ९ वटा स्वास्थ्य चौकी भवन चालू वर्षमा सम्झौता भई निर्माण काम भइरहेको उनले बताए। पात्ले र माधवपुर स्वास्थ्य चौकी भवन बोलपत्र मूल्याङ्कनको चरणमा रहेको इन्जिनियर तामाङले बताए।
खोटाङको विजयाखर्क, चिप्रिङ, नेर्पा, दुवेकोल, सप्तेश्वर, टेम्मा स्वास्थ्य चौकी भवन गत मंसिरमा निर्माण सम्पन्न भई सञ्चालनमा छन्। वाकाचोल, बासापानी, देविस्थान, खल्ले, रिप्दुङ जलेश्वरी, ओप्लुखा स्वास्थ्य चौकी भवनको हालै सम्झौता भएर निर्माण कार्य अघि बढेको तामाङले बताए।
वतासे, बाहुनी डाँडा, मंगलटार, चिउरी डाँडा, राखाबाग्देल स्वास्थ्य चौकी भवन अरबी मुलुक साउदी सरकारको सहयोगमा बन्न लागेको उनले जानकारी दिए।
वैशाख १, २०७८ बुधबार १२:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।