नयाँ वर्ष सुरक्षित रूपमा मनाउन आग्रह

नयाँ वर्ष सुरक्षित रूपमा मनाउन आग्रह

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना दिएकी छन्।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्त्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेकी छन्। 

उनले कोरोना कहरको बीचमै रानीपोखरी, दरबार हाइस्कूललगायत भूकम्पबाट क्षतिग्रस्त भएका ऐतिहासिक संरचनाको पुनः निर्माण सम्पन्न हुनुका साथै मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौँमा पानी वितरण सुरु हुनुलाई उल्लेखनीय उपलब्धिको रूपमा लिन सकिने बताइन्।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले २०७७ साल सुखद नरहेको भन्दै २०७८ साल सुखद हुने विश्वास व्यक्त गरेका छन्। उनले कोरोना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकूलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने उल्लेख गरेका छन्। 

उनले नयाँ वर्ष स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रुपमा पालना गरेर हर्षका साथ मनाउन आह्वान पनि गरेका छन्।

यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुरक्षित रूपमा नयाँ वर्ष मनाउन सबैलाई आग्रह गरेका छन्। उनले अनिवार्य रूपमा मास्क, स्यानिटाइजरको प्रयोग गर्नुका साथै भौतिक दूरी कायम गर्ने, भिडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षितरुपमा नयाँ वर्ष मनाउन आग्रह गरेका हुन्।

काँग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रूपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्णरुपले सहयोग गरेको उनले भनाइ छ। देउवाले आम नेपाली नागरिकको सात दशक भन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त नेपालको संविधानको कार्यान्वयन र संरक्षणका लागि सबै राजनीतिक दलबिच एकता कायम गर्दै लोकतन्त्रमा आधारित समतामूलक र समृद्ध नेपाल निर्माणमा अगाडि बढ्न सबैका लागि नयाँ वर्ष प्रेरणादायी बन्न सकोस् भन्ने कामना गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोस, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामर्थ्य पैदा हुने विश्वास व्यक्त गरेका छन्।

उनले कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यबद्धताका लागि अपिल गरेका छन्।

नेपाली जनताको आकांक्षा र पार्टी नेतृत्वको दूरगामी सोचका कारण कम्युनिष्ट पार्टीहरूबीच एकता कायम भएको उल्लेख गर्दै उनले कम्युनिष्ट पार्टीबीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीले षड्यन्त्रमूलक ढङ्गले विभाजन गरेको स्मरण गरेका छन्।

वैशाख १, २०७८ बुधबार ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।