सरकारले जनतामा आशा जगाउने काम गरेको छ : प्रधानमन्त्री ओली 

सरकारले जनतामा आशा जगाउने काम गरेको छ : प्रधानमन्त्री ओली 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ लाई सफलताको वर्ष मान्नु पर्ने बताएका छन्। नयाँ वर्ष २०७८ को अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०७७ लाई निरर्थक हुन नदिएको बताए। 

उनले केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै सरकारले जनतामा आशा जगाउने काम गरेको दाबी गरे। ‘हामीले जनतामा आशा जगाउने कामहरू गर्यौ,’ उनले भने,‘दिनमा साढे ५ किलोमिटर बाटो बनेको छ।’

आउँदो बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने प्रधानमन्त्री ओलीको भनाई छ। उनले जनकपुरमा ल्याइएका रेल यसै महिनाबाट सञ्चालन हुने बताए। 

प्रतिकुलताका बिच पनि समयलाई खेर जान नदिएको दाबी उनको छ। प्रधानमन्त्री ओलीले तत्काल लकडाउन नहुने बताए। अरू कुनै विकल्प नरहेको अवस्थामा मात्रै लकडाउनबारे सोच्न सकिने उनको भनाई छ। 

उनले सहकार्य र समन्वयको भूमिकामा जोड दिए पनि संसद् चल्न नदिइएको आरोप लगाए। एमसिसीलाई संसदमा रोकिएको भन्दै उनले आलोचना गरे।

संसद् अधिवेशन सुरु भएको पहिलो दिन प्रस्तुत गर्नु पर्ने अध्यादेशसमेत संसदमा प्रस्तुत गर्न नदिइएर अप्रिय स्थिति सिर्जना गरिएको प्रधानमन्त्री ओलीको भनाई छ। 

वैशाख १, २०७८ बुधबार ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।