जनस्वास्थ्यका मापदण्ड पालना नभए एक सातापछि लकडाउन
पहिलो एक हप्ता जनचेतना फैलाउने र जनस्वास्थ्यको आचारसंहिता कडाइका साथ लागु गर्न सार्वजनिक अपिल गर्ने निर्णय भएको कानुन मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए।
‘पहिलो फेजमा जनचेतनासँगेै आचारसंहिता कडाइका साथ लागु गराइनेछ,’ मन्त्री श्रेष्ठले भने,‘पहिलो एक हप्ताको समीक्षा गरेर बन्द गर्नुपर्ने भएमा त्यसपछि सरकारले निर्णय गर्नेछ।’
मन्त्री श्रेष्ठका अनुसार बसमा यात्रा गर्ने यात्रुलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउने जिम्मेवारी चालक र सहचालकको हुनेछ। यस्तै विद्यालयको जिम्मेवारी प्रधानाध्यापक र विद्यालय सञ्चालक समितिका अध्यक्षको हुने उनले बताए।
डान्सबार, सिनेमा हल लगायत भिडभाड हुने ठाउँमा गम्भीर सावधानी अपनाउन सरकारले अपिल गर्नेछ। सरकारले जारी गर्ने आचारसंहिता पालना नगरे चरणबद्ध कडाइ गर्ने सरकारको तयारी रहेको मन्त्री श्रेष्ठले बताए।
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गर्ने निर्णय कडाइका साथ कार्यान्वयन गर्न अपिल गर्न लागेको सीसीएमसीका सचिव खगराज बरालले बताए। ‘नयाँ नियम त्यस्तो केही छैन,’उनले भने,‘यसअघिकै मापदण्ड कडाइका साथ पालना गर्न अपिल गर्छौ।’
यो पहिलो साता लकडाउन नहुने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द नगर्ने निष्कर्षमा पुगेको सरकारले संक्रमण बढेमा लकडाउन गर्ने सचिव बरालले बताए।
चैत ३१, २०७७ मंगलबार ०९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।