कोरोनाविरुद्ध ट्राफिक प्रहरीको सावधानी अभियान सुरु
ट्राफिक प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाइरस रोकथाम तथा सुरक्षित यात्राका लागि पुरानो बसपार्कबाट जनचेतनामूलक अभियान सुरु गरेको हो।
अभियान शुभारम्भ कार्यक्रममा ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान आजदेखि सुरु गरिएको बताए। उनले कोरोना भाइरसबाट यातायात क्षेत्र उच्च जोखिममा रहेकोले वेलैमा सुरक्षाका सावधानी अपनाउनु पर्ने बताए।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले यस्ता सचेतनामूलक कार्यक्रम गर्न ट्राफिक प्रहरीसँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाए।
ट्राफिक प्रहरी महाशाखाले सम्पूर्ण चालक सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाई भौतिक दुरी कायम गरी सवारी साधनको प्रयोग गर्नु अनुरोध गरेको छ।
‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौँ’ लेखिएको स्टिकर उपत्यकामा चल्ने सम्पूर्ण माइक्रो तथा बसहरूमा टाँस गरिने महाशाखाले जनाएको छ।
चैत ३०, २०७७ सोमबार १२:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।