प्रदेश २ को पाँचौँ अधिवेशन आजदेखि सुरु हुँदै
पाँचौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्रबारे जानकारी गराएर शुभकामना दिने कार्यसूची रहेको प्रदेश २ का सचिव रञ्जित कुमार यादवले जानकारी दिए। प्रदेशसभा सचिवालयमा नेकपा माओवादी केन्द्रले पार्टीबाट निर्वाचित सांसदलाई कारबाही गरेको पत्र पठाएको छ।
माओवादी केन्द्रबाट निर्वाचित सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरको सांसद पद गुम्ने छ। उनीहरू नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमाले गएका छन्।
यस्तै, बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समीर पनि एमालेमा प्रवेश गरेका छन्।
कारबाही गरेको पत्र आएकाले प्रदेश २ का सभामुख सरोजकुमार यादवले बैठकमा चार सांसदको पद रिक्त भएको सूचना प्रदेशसभा बैठकलाई जानकारी गराउन सक्ने सचिव यादवले जानकारी दिए। ‘कारबाही गरेको पत्र हिजो नै आइसकेको छ,’ सचिव यादवले भने,‘सभामुखले आज या भोलिको बैठकमा जानकारी गराउनु हुन्छ।’
यस्तै‚ प्रदेश २ मा नेकपा एमालेको खनाल–नेपाल समूहले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुघन महतोलाई चयन गरेको छ।
चैत ३०, २०७७ सोमबार ०८:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।