काँग्रेसले क्रियाशील सदस्यताको विवरण बुझाउने समय थप्ने

काँग्रेसले क्रियाशील सदस्यताको विवरण बुझाउने समय थप्ने

पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका अनुसार आज चैत ३० गतेसम्म सबै जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउनु पर्ने थियो। तर, सबै जिल्लाबाट क्रियाशील सदस्यताको विवरण केन्द्रमा नआएकाले समय थप हुने भएको हो। 

भदौमा हुने महाधिवेशनलाई असर नपर्ने गरी नयाँ क्रियाशील सदस्यता र नवीकरणको विवरण केन्द्रमा पठाउने अवधि थप गर्ने विषयमा केन्द्रीय समितिको बैठकमा छलफल हुने पूर्व महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए। काँग्रेसले आसन्न महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफलमा गर्न केन्द्रीय समिति बैठक आज सोमबार बोलाएको छ। 

काँग्रेसले पार्टीको गाउँ/नगर वडा अधिवेशन २०७८ असार २० गते, गाउँ/नगरपालिका अधिवेशन आगामी असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार २७ गते तोकेको छ। 

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने तालिका निर्धारण गरेको छ।

चैत ३०, २०७७ सोमबार ०७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।