बागलुङको एक फर्निचर उद्योगमा आगलागी, लाखौँको क्षति 

बागलुङको एक फर्निचर उद्योगमा आगलागी, लाखौँको क्षति 

बागलुङ : बागलुङको बागलुङ नगरपालिका ३ गुठीमा रहेको सिर्जना फर्निचर उद्योगमा अचानक आगलागी हुँदा लाखौँको क्षति भएको छ। आगलागीबाट १८ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। 

राती लागेको आगो आइतबार बिहान ८ बजे नियन्त्रणमा आएको छ। आगो निभाउन नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा बागलुङ, बेनी र कुस्मा नगरपालिकाका कर्मचारी तथा प्राविधिक खटिएका थिए।

आगलागीबाट नजिकै रहेको डम्बर बहादुर कार्कीको घरमा फर्निचर तर्फको घरको झ्याल ढोका लगायत अन्यमा क्षति हुँदा अनुमानित २ लाख रुपैयाँ क्षति भएको छ। 

प्रहरीका अनुसार सोही घरको दोस्रो तलामा डेरा गरी बस्ने लाल बहादुर थापाको कोठामा समेत आगलागी भई कोठामा रहेको सम्पूर्ण सामान जली नष्ट हुँदा १ लाख ५० हजार बराबरको नोक्सान भएको छ। 

आगलागीबाट बागलुङ बलेवा घर भएका बिराज भन्ने केशव हरिजन र डम्बर बहादुर कार्कीलाई धुवाले सास फेर्ने गाह्रो भएकोले उपचारको लागि धवलागिरि अस्पतालमा पुर्याइएको छ। दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

साँघुरो गल्लीका कारण आगलागी नियन्त्रणका लागि दमकल पुग्दा विद्युत्, टेलिफोन लगायतका तार चुँडिएका छन्। 

चैत २९, २०७७ आइतबार ०९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।